प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

तमु ल्होसार पर्वको अवसरमा तनहुँको दमौली बजारमा मङ्गलबार बिहान निकालिएको सांस्कृतिक झाँकीमा सहभागीहरु । तस्बिर :कृष्ण न्यौपाने / रासस

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरिन् ।

उनले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् ।”