प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी


२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी मुलुकप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २०–२३ मा भएको सो सम्मेलनका लागि आफ्नोे नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी गराए ।

“अन्तरराष्ट्रिय मञ्चमा नेपालले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूको हित प्रवर्द्धनका लागि महसुस हुनेगरी आवाज उठाएको छ”, प्रधानमन्त्री ओलीले भने, “सम्मेलनका मुख्यसत्र र विषयगत गोलमेच कार्यक्रममा भएको नेपालको सहभागिता र सम्बोधनले नेपालको अन्तरराष्ट्रियस्तरमा छविमा बढोत्तरी हुनुका साथै नेपालले निर्वाह गर्नसक्ने नेतृत्वदायी भूमिकाको सन्देश प्रवाह भएको छ ।”

उनले सम्मेलनका क्रममा औपचारिक र अनौपचारिक सम्बोधन तथा द्विपक्षीय भेटवार्ताबाट मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन मद्दत पुग्ने अपेक्षासमेत आफूले गरेको बताए । सम्मेलन पारवाहनलगायतका चुनौतीको सामनाका उपायहरू खोज्न र ‘अवाजा प्रोग्राम अफ एक्सन’ पारित गर्न सफल रहेको बताउँदै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील मुलुकहरुका विकासको आकांक्षा पूरा गर्ने नयाँ र बलियो प्रतिबद्धता गरेको उनको भनाई छ ।

सम्मेलनमा राष्ट्रप्रमुख तथा सरकारप्रमुख, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्षहरूसहित करिब १०० मुलुकको प्रतिनिधित्व थियो । प्रधानमन्त्री ओलीले सम्मेलनको ‘प्लेनरी’मा आफूले अतिकम विकसित मुलुकहरूको समूहको अध्यक्ष तथा नेपालका तर्फबाट सम्बोधन गरेको र अतिकम विकसित समूहको अध्यक्षको हैसियतमा सम्बोधन गर्दै भूपरिवेष्टित विकासशील मुलुकहरूले सामना गर्दै आएका समस्याहरू उठाएको अवगत गराए ।


उनले आफ्नो मन्तव्यलाई यी मुलुकमा पूर्वाधार अभाव, बजारको सीमितता, प्राथमिक उत्पादनमा निर्भर निर्यात व्यापार, उच्च पारवहन लागत, न्यून वैदेशिक लगानी, जलवायु परिवर्तनका प्रतिकूल असरलगायत समस्याहरूमा केन्द्रित गरेको बताए । “यी समस्याहरूको समाधानका लागि भूपरिवेष्टित विकासशील मुलुकहरूबीच आपसी सहयोग र साझेदारी विस्तार गर्नुपर्ने र विकास साझेदारहरूले थप सहयोग गर्नुपर्ने विषयमा जोड दिएको छु”, प्रधानमन्त्री ओलीले भने, “देशको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दा स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेल्वे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा करिडोर निर्माणमार्फत सीमापार सम्पर्क (क्रस–बोर्डर कनेक्टिभिटी) विस्तारमा नेपालले गरिरहेको कामको चर्चा गरेँ । साथै यसतर्फको हाम्रो यात्रामा थप सहयोग गर्न छिमेकी मुलुकहरू, विकास साझेदार तथा दातृ निकायहरूलाई आह्वानसमेत गरेको छु ।