प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक

काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु भएको छ । यस प्रक्रिया अनुसार राष्ट्रपतिले दिएको समय सीमा आज साँझ ५ बजेसम्म शेरबहादुर देउवा र केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत रहेको दावि गर्दै राष्ट्रपति समक्ष दावि पेश गरेका छन् ।

देउवाले विपक्षी सांसदसहित एमाले माधव नेपाल समुहका २७ सांसदको समेत हस्ताक्षरसहित आफ्नो दावि पेश गरेका हुन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीभित्र उपेन्द्र यादव समुहले समर्थन गरेको छ । उता, प्रधानमन्त्री केपी शर्मा ओली भने आफुलाई सिंगै एमाले र सिंगै जसपाको समर्थन रहेको दावि गर्दै राष्ट्रपति समक्ष पुगेका छन् ।

देउवाले १४९ सांसदको समथर्न रहेको दावि गरेका छन् । ओलीले १५३ सांसद रहेको दावि गरेका छन् । यसअनुसार एमाले र समाजवादीका सांसद दोहोरिएका हुन् । संसदमा कायम सदस्य संख्याको बहुमत पुर्याएमा प्रधानमन्त्रीमा नियुक्त हुन सक्ने प्रावधान रहेको छ ।

प्रधानमन्त्री र विपक्षी दलका नेताबाट छुट्टाछुट्टै दावि आएपछि अहिले राष्ट्रपति विद्यादेवि भण्डारी परामर्शमा रहेकी छिन् । उनले लिने फैसलामा आगामी प्रधानमन्त्रीको टुंगो लाग्ने छ ।