काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन अगाडी भारतीय न्यूज च्यानल जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीलाई बालुवाटारमा बोलाएर हिन्दी भाषामा अन्तरवार्ता दिए । वार्तामा ओलीले ठूल्ठूला राष्ट्रवादका गपल दिए । तिनै चौधरी बालुवाटारबाट सगरमाथाको आधार शिविर नजिकै कालापथ्थर पुगेर एक भिडियो रिर्पोट बनाए । जसमा उनले सगरमाथामाथि भारतले पनि दावा गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।
उनले रिर्पोटमा सगरमाथाको नाम फेर्नुपर्ने र यसमा भारतको दावा हुनुपर्ने उल्लेख छ । चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ, यसको नाम ‘राधानाथ सिकदर’ हुनुपर्छ ।
राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेको उनको दावि छ । जी न्यूजले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यस रिर्पोटको विरोधमा नेपालका केबल अपरेटरले केही च्यानललाई प्रसारणमा रोक समेत लगाएका थिए । तर, प्रधानमन्त्री ओलीले यसै च्यानलमार्फत आफ्ना सहकर्मीलाई जनतासामु गिराउन खोजेका थिए ।