काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नी ट्रान्सप्लान्ट गरिने भएको छ । उनी स्वयमले यसको जानकारी गराएका हुन् । मंगलबार उनले नेपाली संचारमाध्यमका सम्पादकहरुसँग वालुवाटारमा भेटवार्ता गरेका छन् ।
सो क्रममा प्रधानमन्त्रीले छिट्टै किड्नी ट्रान्सप्लान्टको योजना रहेको बताएका हुन् । अहिले नियमित डायलासिस गरिरहनु पर्छ ।
त्यसका लागि नियमित अस्पतालसमेत गइरहनु पर्छ । त्यसको साटो ट्रान्सप्लान्ट स्थायी उपाय हुने प्रधानमन्त्रीले बताए । त्यसपछि तीन वर्षसम्म ढुक्कले सरकार चलाउने उनको भनाई थियो ।
अहिले भन्दा पनि अझै बलियो भएर तीन वर्ष सरकार चलाउन र काम गर्न किड्नी ट्रान्सप्लान्ट गर्न लागेको प्रधानमन्त्रीले बताएका छन् ।
उनको १२ वर्षअघि मृगौला ट्रान्सप्लान्ट गरिएको थियो । फेरिएको मिर्गौलाले समेत काम गर्न छोडेको छ ।
सोहीकारण अहिले प्रधानमन्त्रीले पूर्ण क्षमतामा काम गर्न सकेका छैनन् ।
प्रधानमन्त्रीले अझै तीन वर्ष आफैले सरकार चलाउने बताए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कै प्रस्तावअनुसार पहिलाको आलोपालो प्रधानमन्त्री हुने सहमति परिवर्तन भई पाँच वर्ष आफू नै प्रधानमन्त्री हुने निर्णय भएको समेत उनले जानकारी दिए ।
उनले सम्पादकको मुटु नभएको विषयमा बोल्दै पत्रकारले बल फ्याँकेका कारण आफूले ब्याटिंग गरेको भन्दै माइन्ड नगर्न सुझाव दिए ।