ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गो शहर पुगेका छन् । अब उनी सोमबार र मंगलबार (नोभेम्बर १ र २)मा ग्लास्गोमा संचालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप २६)मा सहभागी हुने छन् । सम्मेलन अन्तर्गत वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यहाँ पुगेका हुन् । स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् । भ्रमणका क्रममा उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।
सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुगेका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उनले विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुगेका हुन् । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।