प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । आजै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उनी पाँचौ पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरि देउवालाई नियुक्ति गरेकी थिइन् । उक्त नियुक्तिको भासा सच्याएपछि देउवा सपथ लिन तयार भएका हुन् । राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलासँगै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको भासा राखेर दोस्रो नियुक्तिको बेहोरा सार्वजनिक गर्नुपरेको छ ।

नियुक्तिमा राष्ट्रपतिको बदनियत देखिएको भन्दै प्रधानमन्त्रीले सपथ लिन अस्वीकार गरेका थिए । सोहीकारण निर्धारित समयभन्दा साढे दुई घण्टा ढिलाई गरि सपथ भएको हो ।