प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिने छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा उनी १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले एक महिना अगाडी नै विश्वासको मत लिन लागेका छन् । मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान छ ।

२७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ । प्रधानमन्त्री बन्न समर्थन नगरेका र सरकारमा सहभागी नभएका अन्य दलहरूले समेत प्रचण्डलाई विश्वासको मत दिन आश्वासन दिएका कारण उनले समर्थन पाउने देखिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिलेसम्म विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेको छैन ।