प्रशान्त महासागरमा विशाल ज्वालामुखी विस्फोट, टोंगामा ठूलो क्षतिको विवरण

1NewsNZ/Twitter

काठमाडौं । प्रशान्त महासागरमा पानीमुनि विशाल ज्वालामुखी विस्फोट भएको छ । बीबीसीका अनुसार विष्फोटका कारण टोङ्गामा सुनामी आएको र यसले ठूलो क्षति पुगेको विवरण आएको छ। सञ्चार सम्पर्क विच्छेद भएकाले उक्त टापुराष्ट्रको अवस्था स्पष्ट हुन सकेको छैन। राजधानी नुकु’आलोफाबाट झन्डै ६५ किलोमिटर उत्तरमा अवस्थित हुङ्गाटोङ्गा-हुङ्गा हा’आपाई ज्वालामुखी शनिवार विस्फोटन भएको हो ।

उक्त विस्फोटन सयौँ किलोमिटर टाढा रहेको अमेरिकासम्म सुनिएको थियो। ज्वालामुखी विस्फोटन भएपोछि एक मिटरभन्दा अग्लो छालले टोङ्गाको तटीय क्षेत्रमा प्रहार गरेको थियो। न्यूजील्यान्डले ज्वालामुखी र त्यसले सिर्जना गरेको सुनामीको प्रारम्भिक मूल्याङ्कनका लागि त्यहाँ आफ्नो एउटा विमान पठाएको जनाएको छ। उक्त विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको छ भने त्यहाँ विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको छ।

ज्वालामुखी विस्फोटन भएपछि ८० हजारजति मानिस प्रभावित भएका हुन सक्ने अनुमान बीबीसीले गरेको छ । न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले सुनामीले उल्लेख्य क्षति पुर्‍याएको बताएकी छन्। अहिलेसम्म कसैको मृत्यु भएको विवरण प्राप्त भएको छैन। तर क्षतिबारे पर्याप्त सूचना आइसकेको छैन। न्यूजील्यान्ड र अस्ट्रेलियाले निरीक्षण गर्न तथा क्षतिको आकलन गर्न विमानहरू पठाउन लागेका छन्।

आइतवार आर्डर्नले खरानीका कारण खानेपानीलाई दूषित पारेको विवरण आइरहेको भन्दै स्वच्छ पानी पठाउने काम महत्त्वपूर्ण हुने बताएकी थिइन्। न्यूजील्यान्ड डिफेन्स फोर्सले आफ्नो एउटा विमान त्यसतर्फ गइसकेको जनाएको छ। फिजीमा रहेका रेडक्रसका एक अधिकारीले त्यहाँ तत्काल सहायता आवश्यक भएको बताएकी छन्। अधिकारीहरूले सर्वसाधारण मानिसलाई बोतलको पानीमात्र पिउन र मास्क लगाएर बस्न भनेका छन्।


शनिवार पानीमुनिबाट ज्वालामुखी विस्फोटन हुँदा आकाशमा धुँवा र खरानीको विशाल मुस्को देखिएको थियो। ज्वालामुखिका कारण झन्डै १.२ मिटर (चार फिट) अग्ला छाल टोङ्गासम्म पुग्ने चेतावनी जारी भएको थियो। विस्फोटन यति विशाल थियो कि त्यो टोङ्गाबाट २,३८३ किलोमिटरपर अवस्थित न्यूजील्यान्डसम्म सुनिएको थियो। उक्त विस्फोटनपछि उत्पन्न कम्पन प्रशान्त क्षेत्र र बाहिरसम्मै महसुस गरिएको थियो।