प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

काठमाडौं । प्रहरीको गोलीबाट धमाधम नागरिक मारिन थालेसँगै संसदमा प्रतिपक्षी दलले गृहमन्त्री समक्ष स्पष्टिकरण माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापाको चर्को आलोचना गरे ।

सर्लाहीमा बालक अमित रायको क्रसर उद्योगले खनेको खाल्डोमा परी मृत्यु भएपछि उठेको स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउदा सरोजनारायण महतोको निधन भएको थियो ।

यो गैरन्यायिक हत्यामार्फत सरकारले मानवाधिकारको गम्भीर उल्लंघन गरेको सांसदहरुको आरोप थियो ।

अर्कोतर्फ विप्लव कार्यक्रता विप्लव पौडेललाई पक्राउ गरेपछि प्रहरीले गोली हानी हत्या गरेको भन्दै सांसदहरुले गृहमन्त्रीको चर्को आलोचना गरेका हुन् ।

खासगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदले गृहमन्त्रीको आलोचना गरेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सर्लाहीका दुई घटनामा गृहमन्त्रालयबाट मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिन् ।

सरकारी निकायको  संरक्षणमा क्रसर उद्योगीले अनधिकृत खाल्डा खनेर जोखिम निम्त्याउने र बालकको ज्यान गएपछि त्यसको विरोधमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको उनको आरोप थियो ।

राजपा सांसद राजकिशोर यादवले पनि सरकारले तराई क्षेत्रमा मान्छे मारेको भन्दै आलोचना गरेका हुन् । मंगलबारको बैठकमा गृहमन्त्री थापाले कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको बताए ।

गृह मन्त्रीको जवाफमा कांग्रेस र राजपाका सांसदले चित्त बुझाएनन् र निरन्तर विरोध गरिरहे । सांसद भरतकुमार शाहले गृहमन्त्रीको जवाफ सत्य नभएको भन्दै संसदीय समिति गठन गर्न गृहमन्त्री तयार हुनुपर्ने बताए ।

सांसदहरुले गृहमन्त्रीले कर्मचारीको बनिबनाउ उत्तर ल्याएर पढेको भन्दै वास्तविकता लुकाउने षडयन्त्र सरकारले गरिरहेको बताए ।

गृहमन्त्रको जवाफमा चित्त नबुझेपछि मंगलबार कांग्रेस र राजपाका सांसदले रोष्ट्रम घेर्दै संसद अवरुद्ध पारे ।