प्रेमरोगीको डायरी

आरएल श्रमजीवी, लण्डन

‘तिमीले छोड्यौ भने, तिमीले मलाई बेवास्ता ग¥यौ भने, म त तिम्रै नाममा मरिदिन्छु । हाँसीहाँसी तिम्रो नाम लिएर मर्न मलाई मन्जुर छ ।’ कुनै समय तिमीले म्यासेन्जरमा भनेका यी शब्द सुन्दा म झस्किएको थिएँ । ‘हे पागल्नी, के भनेको यस्तो ?’ मैले अचम्म मान्दै भेटमा प्रतिप्रश्न गरेको थिएँ ।


तिमी मुस्कुराएकी थियौ । मेरो छातीमा टाउको राखेर बिस्तारै भन्यौ, ‘बरु मृत्यु आओस्, कुनै गुनासो छैन । तर तिमीबाट छुट्टिएर बाँच्नुपर्ने दिन कहिल्यै नआओस् है ।’ आज पनि ती शब्दहरु मेरा कानमा उस्तैगरी गुञ्जिरहेका छन् ।


समयले धेरै कुरा बदलेको छ । ऋतु फेरिएका छन् । भूगोल फेरिएको छ । मान्छेहरु फेरिएका छन् । तर त्यो क्षण, त्यो स्पर्श, अँगालो, त्यो आवाज र ती शब्दहरु भने मेरो स्मृतिको भित्तामा अझै ताजै टाँसिएका छन् ।

२०१५ जनवरी १५ चिसो दिन, त्यो दिनपछि तिमी मेरो जीवनबाट यति गहिरो गरी हरायौ कि आज ११ वर्ष पुग्न लाग्यो । तर अनौठो कुरा के छ भने, तिमी हराए पनि तिम्रो अनुरागले यो जीवनभर नछाड्ने भयो ।


कहिलेकाहीं रातको सन्नाटामा म एक्लै बस्छु । अचानक तिम्रो आवाज कानमा ठोक्किन्छ । म झस्किन्छु । आँखाहरु रसाउन थाल्छन् । अनि थाहै नपाई आँशु मोतीदाना बनेर गालाभरि बग्न थाल्छन् ।


म सोच्न बाध्य हुन्छु– यति धेरै माया गर्ने मान्छे कसरी यति धेरै टाढा हुन सक्छ ?
सायद प्रेमको सबैभन्दा भयावह रुप घृणा नै रहेछ । प्रेम जति गहिरो हुन्छ, त्यसको विपरीत दिशामा उभिने घृणा पनि त्यति नै निर्मम हुँदो रहेछ ।


तर आजसम्म मैले बुझ्न सकेको छैन– आखिर मैले तिम्रो जीवनमा के त्यस्तो नहुने काम गरें ? मैले के बिराएँ ?


यो एउटा यस्तो प्रश्न हो जसको उत्तर खोज्दै मैले वर्षौं बिताएँ । आफैंलाई हजारौं पटक सोधें । आफ्नै मनसँग बहस गरें । तर उत्तर कतै पाउन सकिन ।
अन्ततः २०१९ नोभेम्बरको एक रात, क्यालिफोर्नियाको चिसो अँध्यारोमा मैले तिमीलाई फोन गरेर त्यही प्रश्न सोधें ।


केहीबेरपछि तिम्रो एउटा सन्देश आयो– ‘डन्ट इन्टरफेयर इन माई प्राइभेट लाइफ’ ।


त्यो छोटो अंग्रेजी वाक्यले मेरो सम्पूर्ण संसार भत्काइदियो ।
जब तिमीले देख्यौ कि मैले त्यो सन्देश पढिसकेको छु, त्यसपछि तिमीले अन्तिम पटक फेसबुकबाट पनि मलाई ब्लक गरिदियौ ।


त्यसपछि…
तिम्रो बारेमा मलाई केही थाहा छैन ।
तिमी कहाँ छौ ? कसरी छौ ? खुसी छौ कि बेखुसी मलाई केही थाहा छैन ?
अरु पनि मलाई केही थाहा छैन ।


ब्लक भएको पनि आठ वर्ष पुगिसकेको छ । तर समयले एउटा कुरा भने बदल्न सकेन ।


तिमीप्रतिको मेरो प्रेम ।


मानिसहरु भन्छन्, समयले सबै घाउ निको पार्छ । तर केही घाउहरु निको हुँदैनन्, तिनीसँग बाँच्न मात्र सिकिन्छ ।


सायद म पनि त्यही घाउसँग बाँचिरहेको छु । आज पनि रात गहिरिँदै जाँदा, जब संसार निदाउँछ, म तिम्रो सम्झनासँग जागै हुन्छु ।


र मनभित्र कतै एउटा आवाज उठ्छ– ‘तिमी जहाँ भए पनि खुसी रहनू । किनकि तिमीले भुलेको त्यो प्रेमीले आजसम्म तिमीलाई भुल्न सकेको छैन । सायद अन्तिम साससम्म भुल्ने छैन ।’