प्रेमिकाको हत्या गरी सुन्दरीजलमा फालेको आरोपमा दुई पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । हत्या भएकी महिला सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीले बताएको छ । टाउकोमा चोट देखिएपछि घटनाको अनुसन्धानलाई थप तीव्रता दिएको प्रहरीले राम दुलारीको हत्या भएको निष्कर्ष निकालेको थियो ।

गत बिहीबार सुन्दरीजल घुम्न गएका व्यक्तिले बोक्सेदहको ढुंगाको कापमा मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान टोली खटिएको थियो । प्रहरी घटनास्थल मुचुल्का गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको थियो । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा छन् ।

प्रहरीका अनुसार प्रेमी रामविनय जुत्ता सिलाउने काम गर्थे भने प्रेमिका राम दुलारी ज्याला मजदुरीको काम गर्थिन् । उनीहरु करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर आपसी असमझदारीका कारण उनीहरुबीच पटक–पटक झगडा हुने गरेको थियो ।

त्यसपछि सन्तोषसँग मिलेर रामविनयले हत्याको योजना बनाएको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । योजनाअनुसार नै रामविनयले प्रेमिका राम दुलारीलाई घुम्न भनेर सुन्दरीजल लगेका थिए । त्यसपछि सन्तोषको सहयोगमा रामदुलारीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । ‘