फराकिलो मत अन्तरले जित्नेमा रवि लामिछानेदेखि केपी शर्मा ओलीसम्म

काठमाडौं । देशभर निर्वाचनको अन्तिम नतिजा आउने क्रम अब अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म १६१ सिटको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएको छ । यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सबैभन्दा फराकिलो मत अन्तरले जित्ने सांसद बनेका छन् । उनी चितवन २ मा उम्मेदवार थिए । कुल ८४ हजार ३१५ मत खसेको यस क्षेत्रबाट लामिछानेले ४९ हजार ३०० अर्थात् ५८।.७ प्रतिशत मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी राज्यमन्त्री उमेश श्रेष्ठले मात्र १४ हजार ९८८ मत पाए ।

लामिछानेपछि सर्वाधिक मतान्तरले चुनाव जित्नेमा भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल छन् । उनले ३४ हजार ३१२ मतान्तरले जितेका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले जिते । ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले २३ हजार ७४३ मत ल्याए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि २५ हजार २२९ मतान्तरले चुनाव जिते । रोल्पाबाट नेकपा एमालेका पूर्ण बुढामगरलाई फराकिलो अन्तरले पराजित गरेका उनले ४१ हजार ७१४ मत पाए । बुढामगरले १६ हजार ४८५ मत ल्याए । मोरङ–३ मा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरे । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले हराए ।

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले एमालेका कैलाश ढुंगेललाई १६ हजार ३६९ मतान्तरले हराए । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले जितिन् । गोरखा–१ मा कांग्रेसका राजेन्द्र बजगाईले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरेको निर्वाचन आयोगको तथ्यांक छ ।