फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

काठमाडौँ, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताएका छन् । निर्वाचन सफल बनाउन उनले सबैलाई आग्रह गरे । कतारको दोहास्थित नेपाली राजदूतावासमा आज आयोजित स्वागत कार्यक्रममा सरिक हुने क्रममा सम्बोधन गर्दै उनले निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्त्वपूर्ण हुने पनि बताए ।


युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएकाले संविधान र प्रणाली जोगाउन सकिएको पनि राष्ट्रपति पौडेलले बताए । उनले संसारका अन्य देशमा युवाको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको उल्लेख गरे । कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गरे ।

कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज नै त्यहाँ पुगेका राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डललाई कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्चपदस्थ कर्मचारी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले स्वागत गरेका थिए । उनी सम्मेलनका लागि कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेका हुन् ।

सो अवसरमा राजदूत पौडेलले कतारमा रहेका नेपाली श्रमिकहरूका बारेमा जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ । साथै, उनले सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन् ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ । सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध रहिआएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनेछन् ।