फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित

मनिला । दक्षिण फिलिपिन्समा आएको विनासकारी आँधीमा परि १२ जनाको मृत्यु भएको छ । शक्तिशाली समुद्री आँधीका कारण मुलुकको लोकप्रिय पर्यटकीय क्षेत्र नै तहसनहस भएको समाचार छ । बीबीसीका अनुसार मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको छ । तीव्र गतिको आँधीले बाटोमा परेका घरहरू ढलाउँदा लाखौँ मानिसहरू विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसङ्घले एक करोड ३० लाख मानिसहरू प्रभावित भएका जनाएको छ। शुक्रवारसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ। सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् भने बिजुलीका तार र खम्बाहरू ढलेका छन्। जताततै बाढी आएपछि हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थलमा आश्रय लिइरहेको बताइएको छ।

अधिकारीहरूले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानहरूका लागि चालु रहेको बताएका छन्। सन् २०१७ मा त्यहाँ छायाङ्कन भएको एउटा चलचित्रले यहाँको उत्कृष्ट स्थानीय सौन्दर्यलाई प्रदर्शित गरेपछि यो ठाउँ प्रसिद्ध भएको थियो। यो टापुले फिलिपिन्समा कठिन सहरको दिनचर्याबाट टाढा बस्न चाहने युवा र निस्फिक्री घुम्न चाहने यात्रुहरूलाई आकर्षित गर्ने गरेको छ। पश्चिमतर्फ सोझिएको आँधीले नदीका बाँधहरू फुटाउँदा ठूला टापुहरूमा बाढी निम्त्याएको थियो।

सिरगाओ पश्चिमको सुरिगाओ सहरका मेयरले टाइफुनको प्रभावलाई गम्भीर भनेका छन्। ूयो देशमा वर्षमा औसत २० आँधी आउने गरेका छन्। सन् २०२० को नोभेम्बरमा समुद्री आँधी गोनीले आफ्नो मार्गमा मानवीय क्षति र विनाश निम्त्याएको थियो। सन् २०१३ मा ६,००० मानिसहरूको ज्यान जाने गरी आएको हैयान समुद्री आँधीपछि त्यो सबैभन्दा ठूलो आँधी भएको बताइएको छ।