काठमाडौं । फेसबुक विज्ञापनका माध्यमबाट सस्तोमा विदेशी सामान ल्याउने आश्वासन दिँदै ठगी गर्ने तीन जनालाई प्रहरीले समातेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले ८० लाख रुपैयाँभन्दा बढी ठगिसकेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार उनीहरुलाई राजधानी बाटै पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर घर भई अहिले काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशला नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन रहेका छन्।
उनीहरुले तारा ग्याजेट नामम फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडीजस्ता वस्तु ल्याउने भन्दै विज्ञापन गर्ने र सोही विज्ञापनका माध्यमबाट मानिसहरुलाई ठगी गर्ने गर्थे ।
फेसबुक एडमिनका माध्यमबाट उनीहरुलाई पच्छ्याएर पक्राउ गरिएको प्रहरीको भनाई छ ।