फेसबुकलाई टुक्राउन माग गर्दै अमेरिकामा मुद्दा दर्ता

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमाथि गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको आरोप लागेको छ । अमेरिकाका संघीय नियाम निकाय र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले गैरकानुनी कदम चालेको भन्दै फेसबुक बिरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले सो कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन् ।

फेसबुकमाथि साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई ’किन्ने वा सिध्याउने’ शैली लिएको आरोप लगाइएको छ । यो मुद्दालाई फेसबुकविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै सबैभन्दा उल्लेख्य कानुनी कदम मानिएको छ । अभियोजनकर्ताहरूले अदालतलाई फेसबुकलाई टुक्राउने विषयमा सोच्न समेत भनेका छन् ।

अर्बौँमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत फेसबुककै लगानी छ । फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किनेको थियो । इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग मुद्दामा गरिएको छ ।

फेसबुकले अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँअघि स्वीकृत गरिसकेको जनाएको छ । फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएपलाई सफल बनाउन करोडौँ खर्च गरेको बताउँदै आफूलाई उसकै शब्दमा जोडदार ढङ्गले प्रतिरक्षा गर्ने जनाएको छ ।