काठमाडौं । फ्रान्सको राजधानी पेरिस र अन्य सहरमा उडुसको प्रकोप बढेको छ । यसले आगामी वर्ष आयोजना हुन लागेको ओलिम्पिक्ससँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न उठ्न थालेको छ। बीबीिसीका अनुसार विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ। फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको पाइन्छ।
प्रत्येक वर्ष गर्मी यामको उत्तरार्धतिर हामी उडुसको सङ्ख्या बढेको देख्छौँ, मार्सेको मुख्य अस्पतालमा कार्यरत कीटविज्ञ जाँ-मिशेल बेरेन्जर भनेका छन् । मानिसहरू जुलाई र अगस्ट महिनामा बाहिर जान्छन् र आफ्ना सामानमा उडुस लिएर फर्किने उनले बताए । प्रत्येक वर्ष हुने यस्तो मौसमी वृद्धि अघिल्लो वर्षको भन्दा बढी हुने समेत उनले बताए ।
पेरिसमा फ्ल्याटमा बस्ने मानिसहरू लामो समयदेखि उडुसको त्रासमा छन्। विगत पाँच वर्षमा १० जनामध्ये एक जनाले उडुसको प्रकोप खेपेको सरकारी तथ्याङ्क छ। अहिले उडुस फैलिन सक्ने नयाँ सम्भावित स्रोतका कारण मानिसहरू तनावमा परेका छन्।
सिनेमाघरमा पनि उडुस देखिएको विवरण प्रकाशित भएको छ। पुष्टि हुन नसके पनि त्यसलाई गम्भीरतापूर्वक लिइएको छ। मानिसहरूले आफूलाई उडुसले रेलमा पनि टोकेको दाबी गरेका छन्। अहिले पेरिसको स्थानीय प्रशासन र राष्ट्रपति माक्रोँको सरकारले उडुस नियन्त्रणका लागि उचित काम गर्न आह्वान गरेको छ।
त्यसबाट उडुसको प्रकोप तथा ओलिम्पिक्स खेल आयोजना हुन लागेका बेला पेरिसको छविप्रति फ्रान्स कति गम्भीर छ भन्ने देखिन्छ। सामाजिक सञ्जालमा उडुस आतङ्कबारे निकै चर्चा हुने गरेको छ। तर प्रशासन त्यसलाई बेवास्ता गर्ने पक्षमा छैन। सिनेमाघरको कुर्सीमा अज्ञात कीरा देखिने भिडिओहरू सामाजिक सञ्जालमा फैलिएपछि सिनेमा हेर्न जाने मानिसको सङ्ख्या घट्न थालेको छ। मेट्रोमा पनि मानिसहरूले बस्नुअघि सीटमा केही पो छ कि भनेर हेर्न थालेका छन्। केही मानिस भने उठ्न नै रुचाउँछन्।