फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

काठमाडौं । महत्वपूर्ण क्षणमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि इङ्ल्याण्ड जारी विश्वकपको क्वाटरफाइनलमा पराजित भएको छ । कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भए । इङ्ल्याण्ड साविक विजेता फ्रान्ससँग २–१ ले पराजित भयो । मध्यराती सम्पन्न खेलमा इङ्ल्याण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । अब बायत रंगशालमा त्यसअघि भने इङ्ल्याण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेर टिमलाई जिवित राखेका थिए ।

खेलको १७औं मिनेटमा औरेलियन चुवामेनीले एन्टोनी ग्रीजमनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याए । इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन । जसले गर्दा फ्रान्स भाग्यमानी बन्यो र लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो । फ्रान्सले अब मोरक्कोसँग सेमिफाइनल खेल्नेछ ।