काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा पुनरागमन नगर्ने भएकी छन् । उनका छोरा सजीब वाजेदले आफ्नी आमाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारेका हुन् । सोमबार बिबिसी वर्ल्ड सर्भिससँग कुराकानी गर्दै वाजेदले हसिनाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारे ।
अल्पसंख्यक समुदायलाई लक्षित गरी काम गरेको भए पनि हसिनाविरूद्ध नै प्रदर्शन भएको देखेर उनी निकै निराश रहेको समेत वाजेदले बताए । वाजेद हसिनाका आधिकारिक सल्लाहकार समेत हुन् ।
बंगलादेशमा प्रदर्शन बढ्दै गएपछि हसिनाले आइतबारदेखि नै राजीनामा दिने सोच बनाएको उनले जानकारी दिए । उनको सुरक्षाका लागि परिवारले दबाब दिएपछि देश छाडेको समेत वाजेदको भनाई छ । ‘
उनले बंगलादेशलाई परिवर्तन गरेको छ। जब उनले बंगलादेशको सत्ता हातमा लिएकी थिइन्, त्यही बेलादेखि राज्य असफल हुँदै थियो। बंगलादेश एक गरिब राष्ट्र थियो। आज बंगलादेशलाई विकसित एसियन टाइगरको रूपमा मान्न थालेको थियो। उनी निकै निराश छिन्,’ वाजेदले बिबिसीसँगको अन्तर्वार्तामा भनेका छन् ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना हाल भारतमा छिन्। उनी त्यहाँबाट बेलायत जाने चर्चा छ। यद्यपि उनी कहिले र कसरी जान्छिन् भन्ने खुलिसकेको छैन।हसिनाले बंगलादेश छाडेसँगै त्यहाँ सेना प्रमुखले अन्तरिम सरकार बनाउन तयारी थालिसकेका छन्। प्रदर्शनकारीहरूले पनि खुसीयाली मनाएका छन् ।
प्रदर्शनकारीहरूले सोमबार बंगलादेशको प्रधानमन्त्री निवास नै कब्जा गरे । आरक्षणविरूद्धको प्रदर्शनमा बंगलादेशमा हालसम्म ३ सय जना भन्दा बढीले ज्यान गुमाएका छन्।
आइतबारमात्रै कम्तिमा ९१ जनाले ज्यान गुमाएका थिए। यस्तै सोमबार ढाकामा भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकको शव ढाका मेडिकल कलेजमा राखिएको एक प्रहरी इन्स्पेक्टरले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग भनेका छन्।
बंगलादेशमा भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको हो। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका थिए।
हसिना सन् २००९ देखि सत्तामा थिइन्। १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो। उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ। ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन्।