बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड

Photo : hindustannewshub.com

ढाका । बङ्ग्लादेशको ठाकुरगाँव जिल्लामा सडक छेउमा बनाइएका १२ वटा मन्दिरमा तोडफोड भएको छ । मन्दिरमा भएका १४ वटा मूर्ति रातिको समयमा तोडफोड गरिएको बताइएको छ। घटना सम्बन्धमा अज्ञात आरोपितहरूविरुद्ध उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। “फेब्रुअरी ४ तारिखको राति केही अज्ञात व्यक्तिहरूले मूर्ति तोडफोड गरेका रहेछन्। प्रहरीले यसबारे छानबिन गरिरहेको छ,” बालियाडाँगी थानाका कार्यवाहक अधिकारी खैरुल अनामले भने।

बालियाडाँगी उपजिल्लाका कार्यकारी अधिकारी विपुल कुमारका अनुसार ६७ किलोमिटर लामो सडक किनारमा बनाइएका ससाना मन्दिरका मूर्ति तोडफोड भएको छ। उनका अनुसार मन्दिरहरू एकदम सानासाना थिए र तिनको रेखदेख गर्ने खासै व्यवस्था थिएन। “ती ठूला वा चर्चित मन्दिर होइनन्। सडकछेउमा रूख र बाँसघारीनजिक अथवा सुनसान स्थानमा बनाइएका मन्दिर हुन्,” प्रहरी अधिकारी खैरुल अनामले भने।

विवरणमा जनाइएअनुसार ती मन्दिरहरूमा कुनै पूजाआजा हुने गरेको थिएन। धनतला क्षेत्रमा सबैभन्दा धेरै आठवटा मूर्ति तोडफोड गरिएको छ। उपजिल्ला कार्यकारी अधिकारी विपुल कुमारका अनुसार रातिको समयमा मोटरसाइकलमा आएका मानिसहरू तोडफोडमा संलग्न हुनसक्छन्। “मोटरसाइकलमा सवार व्यक्तिले फलामको छडले मूर्ति तोडफोड गर्दै हिँडेको देखिन्छ। दलबलका साथ आएर सुनियोजित रूपमा घटना भएको जस्तो छैन,” उनले थपे। विगत सय वर्षमा सो क्षेत्रमा यो प्रकृतिको पहिलो घटना भएको विपुल कुमारले बताए।घटनामा बाहिरी मानिसहरूको संलग्नता हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन्।

आउँदा दिनमा मन्दिरहरू बेवारिसे नरहून् भन्ने हिसाबले प्रशासन अगाडि बढ्ने विपुल कुमारले बताए। धनतलाका अध्यक्ष समरकुमार चटोपाध्यायका अनुसार मूर्तिमा तोडफोड गरिएको घटनाका कारण कुनै प्रकारको अशान्ति सिर्जना भएको छैन। “यो क्षेत्रमा सनातन धर्म मान्ने मानिसहरूको सङ्ख्या उल्लेख्य छ। सोमवार पनि प्रहरीले गस्ती गरेको थियो,” उनले भने। तोडफोडमा फलानो नै संलग्न होलान् भनेर किटान गर्न सक्ने अवस्था नरहेको चटोपाध्यायले थपे। चारोल क्षेत्रका अध्यक्ष दिलिपकुमार चटर्जीका अनुसार सो क्षेत्रमा पनि एउटा मन्दिरको मूर्ति तोडफोड भएको छ। घटनालाई लिएर सो क्षेत्रका मानिसहरूमा त्यस्तो कुनै सन्त्रास नरहेको उनले बताए।