काठमाडौं । इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायल बन्धक छुट्ने समयसम्मका लागि युद्ध रोक्न तयार भएको हो । इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्नेछन् । हमासले थप बन्धक छाड्दै गएमा थप केही दिन युद्धविराम पनि लम्बिने इजरायल सरकारले जनाएको छ । इजरायली सरकारको वक्तव्यमा भनिएको छ, थप १० जना बन्धक छाडिएमा थप एक दिन युद्ध रोकिनेछ ।
इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो । सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए । त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो । बन्धक कहिलेदेखि छोडिन्छ भन्नेबारेमा भने स्पष्ट जानकारी आएको छैन । सीएनएनका अनुसार पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सबै जना बन्धक सुरक्षित रूपमा घर फर्किएपछि पुनस् हमासविरुद्धको कारबाही सुरु हुने बताएका छन् । बन्धक बनाइएकाहरूको घरफिर्ती आफूहरूको ुठूलो लक्ष्यु भए पनि पूर्ण रूपमा जित हात नपारेसम्म हमासविरुद्धको कारबाही जारी रहने उनको भनाइ छ ।
हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ ।
जसमा नेपालका विद्यार्थी विपिन जोशीसमेत रहेका छन् । इजरायली सुरक्षा फौजले जोशी हमासको कब्जामा गाजामा रहेको दाबी गरेको छ । जोशी र अर्का एक थाई नागरिकलाई हमासले उपचारका लागि अस्पतालमा लैजाँदै गरेको भिडियो उसले सार्वजनिक समेत गरेको छ । तर उक्त भिडियोको स्वतन्त्र पुष्टि भने भएको छैन ।
गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।