काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रको गतिविधिमा जान महिनामा पाँच दिनको समय पाउने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा सिंहदरवारमा बसेको सबै राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय गरेको छ । बैठकमा सभामुख घिमिरेले प्रस्तावित संसदीय क्यालेन्डर प्रस्तुत गरेका थिए । प्रस्तावित क्यालेन्डरमा नियमित रुपमा संसदका गतिविधि रहने उल्लेख छ । सातामा तीन दिन सभाको बैठक चलाउने र तीन दिन संसदीय विषयगत समिति चलाउने प्रस्ताव गरिएको बताइएको छ ।
यसो गर्दा सांसदहरु निर्वाचन क्षेत्रको गतिविधिसँग जोडिन नपाउने भनी प्रमुख सचेतक र सचेतकहरुले समय छुट्याउनुपर्ने प्रस्ताव गरेका थिए । एक महिनामा ५ दिन निर्वाचन क्षेत्र जान छुट्टी दिने गरी तालिका बनाइएको छ । यसअघि सांसदहरुले संसद चलिरहँदा निर्वाचन क्षेत्रमा हुने गतिविधिमा संलग्न हुन नपाएको गूनासो गर्ने गरेका थिए । त्यसलाई समेत सम्बोधन गरेर संसदीय क्यालेन्डर बनाउन लागिएको हो ।
संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरू हुँदैछ । यो अधिवेशनमा संसदीय क्यालेन्डर बनाएर लागू गर्ने पनि सभामुख र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको निर्णय छ । संसदीय क्यालेन्डर लागू गर्ने विषय र संसदीय क्यालेन्डरको स्वीकृति प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले औपचारिक रुपमा गर्नेछ । शुक्रबार बसेको सभामुख र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले हिउँदे अधिवेशनबाट विद्युतीय हाजिरी लागू गर्ने निर्णय पनि लिएको छ । राष्ट्रिय सभाले भने यसअगाडि देखि नै विद्युतीय हाजिरी गर्दै आएको छ ।