काठमाडौं । आठ वर्षअघि काठमाडौंमा एक सौन्दर्य प्रतियोगिताका दौरान आफुमाथि आयोजकले बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक भएपछि आरोपित मनोज पाण्डे पक्राउ परेका छन् । सन् २०१४ मा किशोरीलाई होटेलमा बलात्कार गरेको अभियोग ती युवतीले लगाएकी छिन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनीमाथि शनिबार बिहानैबाट निगरानी बढाइएको थियो । अपरान्ह पक्राउ गरिएको हो ।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका दौरान घटना भएको युवतीको आरोप छ । प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको युवतीले सामाजिक संजालमार्फत बताएकी छिन् । पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।