काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा सिलसिलामा काठमाडौं अवतरण गरेका छन् । उनी बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम रहेको बताइएको छ । विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका रहेको छ । उनले पोखरामा प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर समेत गर्ने भएका छन् ।
त्यसपछि उनी धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्ने भएका छन् । त्यहाँको छोटो पदयात्रापछि उनी पोखराबाट भैरहवा जाने र लुम्बिनी दर्शन गर्ने कार्यक्रम छ । बुद्ध थन्मथलो लुम्बिनीको तिलौराकोट भ्रमणपछि भैरहवामा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् । सोही दिन काठमाडौं फर्किने उनी २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम छ । उनी पहिलो पटक नेपाल आएका हुन् ।