काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित नेपाली नागरिकको संख्या २ सय ४५ पुगेको छ । त्यहास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको हो ।
रोजगारीका सिलसिलामा बहराइन पुगेका करीव ३० हजार नेपालीमध्ये अहिलेसम्म २४५ मा कोरोना भाइरस संक्रमण पुष्टी भइसकेको छ ।
दूतावासका अनुसार मंगलबार रातिसम्म कोरोना संक्रमणसँग जुधिरहेका नेपालीको संख्या अहिेलसम्मकै उच्च विन्दुमा पुगेको हो ।
बहराइनमा हालसम्म ३७ सय २० जना कोरोना संक्रमित पुगिसकेका छन् । आठजनाको ज्यान गइसकेको छ ।
एक जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ । नेपालीको भने स्वास्थ्य अवस्था सामान्य रहेको दूतावासको भनाई छ ।
यस मुलुकले अवैधानिकरुपमा बसिरहेका नेपालीसहित आप्रवासीलाई देश छाड्न ७ अप्रिलदेखि लागू हुनेगरी ३१ डिसेम्बर २०२० सम्मको अवसर समेत दिएको छ।
बहराइनमा अहिले सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन पाइदैन । घर बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्छ ।
बहराइन सरकारले सबै नेपालीलाई आफ्ना नागरिकसरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ ।
दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन समेत आग्रह गरेको छ ।
समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिएर समस्या समाधान गर्न सहजीकरण भइरहेको दूतावासको भनाई छ ।