बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

मनामा । बहराइनमा रहेक नेपालीमाथि कोरोनाको संक्रमण बढेको छ । यस मुलुकमा मात्र कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको हो ।

बुधबार थप १० जनामा संक्रमण पुष्टि भएको मनामास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

यसअघि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

सोही क्याम्पबाट १० जना नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको दूतावासले उल्लेख गरेको छ ।

दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमणको परिक्षण गरिएको थियो ।

जसमध्ये २२ जना नेपालीमा पुष्टी भएको छ । बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ रहेको छ । यहाँ अहिलेसम्म ५ जनाको ज्यान गएको छ ।

संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर रहेको दुतावासले उल्लेख गरेको छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय समेत दिएको छ । यहा ठूलो संख्यामा नेपाली कामदार रहेका छन् ।