बाइकबाट उछिट्टिएर त्रिशूली नदीमा एक युवा वेपत्ता

काठमाडौं । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ५मा रहेको ३ नम्बर पुलबाट फागुन शुक्रबार बिहान मोटरसाइकलसहित त्रिशूली नदीमा हराएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन भएको छ । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आज बिहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।

दूर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन गरेर खोजीकार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।