बाक्लो हुस्सुका कारण आज पनि जनजिवन प्रभावित

काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आज पनि देशभर यात्रा र जनजिवन प्रभावित बनेको छ । तराईका जिल्लामा हुस्सु तथा कुहिरोले जनजिवन बढी प्रभावित बनेको हो । कम भिजिभिलिटीका कारण आज बिहान आन्तरिक उडान ठप्प भएको छ । त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फको उडान मात्र नियमित छ ।

बुधबार बिहान तराईका धेरै भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ। काठमाडौं उपत्यकामा पनि लागेको हुस्सु क्रमश सफा हुँदैछ। देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

दिउँसो गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन्।