हेटौडा । बागमती प्रदेशमा मूख्यमन्त्रीको टुंगो बुधबार लाग्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बोलाइएको छ । गत बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको हो । बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक सातामै शाक्य अल्पमतमा परेकी थिइन् । त्यसपछि गत असोज २४ गते विश्वासको मत प्राप्त गर्ने प्रस्ताव उनले प्रदेशसभामा पेश गरेकी हुन् ।
बागमती प्रदेशमा हाल १०९ प्रदेशसभा सदस्य कायम छन् । बहुमतका लागि ५५ सदस्य आवश्यक पर्छ । बागमती प्रदेशमा हाल एमालेका ४३, माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना, एकीकृत समाजवादीका १३ जना, विवेकशील साझा पार्टीका तीन जना प्रदेशसभा सदस्य छन् । यसैगरी नेमकिपा र राप्रपाका दुई(दुई जना तथा जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेश सभा सदस्य छन् ।