बागलुङमा दुई जनालाई भीरबाट खसालेर मारेको घटनामा ८ आरोपित पक्राउ

बागलुङ । होली खेल्ने क्रममा भएको विवादपछि बागलुङमा दुई जनालाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो । बडिगाड गाउँपालिका–१० दर्लिङको बल्देधुरीमा होली पूर्णिमाको दिन दर्लिङ र राजकुतका युवाबीच झडप भएको थियो ।

सो क्रममा दुई युवालाई भीरबाट धकेलिएको थियो । घटनामा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ दीपक परियारको ज्यान गएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा बडिगाड गाउँपालिका–१० दर्लिङका २८ वर्षीय रेशम बुढा मगर, २३ वर्षीय मिलन बुढा, २४ वर्षीय रेशम भन्ने भेषराज बुढा, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा, तिर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा र ३६ वर्षीय ढालबहादुर बुढालाई सार्वजनिक गरेको छ ।

उनीहरुमध्ये सूर्य बुढा र ढालबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका थिए । पक्राउ पर्नेमाथि जिल्ला अदालतबाट म्याथ थप गरी घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । यो घटनामा मदिरा मूख्य कारण रहेको समेत प्रहरीको भनाई छ । अत्यधिक मदिरा सेवन गरेका दुबै तर्फका युवाबीच एक युवतीलाई रंग दल्ने विषयलाई लिएर झगडा शुरु भएको थियो ।