बागलुङ । होली खेल्ने क्रममा बागलुङमा वेपत्ता भएको भनिएका युवा सम्पर्कमा आएका छन् । बागलुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार हिंसात्मक झडप भएको थियो । त्यस क्रममा १० जना भन्दा बढी युवा हराएका थिए ।
स्थानीय संचारमाध्यमहरुका अनुसार हराएका सबै युवा आइतबार राती सम्पर्कमा आएका छन् । आइतबार बल्देधुरीमा होली मनाउने क्रममा बागलुङको निसीखोला गाउँपालिका ७ राजकुत र बडीगाड गाउँपालिका १० दर्लिङका युवाबीच झडप भएको हो । झगडामा निसीखोला७ राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको ज्यान गएको छ ।
निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले संचारमाध्यमलाई बताए अनुसार दिउँसोको ग्याङ फाइटपछि सम्पर्कविहीन भएका युवा राती अबेर सम्पर्कमा आएका हुन् । उनीहरु सामान्य घाइते अवस्थामा थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको बताइएको छ ।