चितवन । नेपालमा बाघ गणनाका लागि राखिएका क्यामरा चोरी भएको छ । राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएको राससले लेखेको छ । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका पाँच वटा क्यामेरा चोरी भएको समाचारमा उल्लेख छ । बाघ सर्वेक्षणका लागि राखिएको क्यामेरामध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार तथा चितवनमा एउटा क्यामेरा चोरी भएको निकुञ्जले उल्लेख गरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार नवलपरासीको कावासोतीमा चार वटा क्यामेरा तथा चितवनको कालिका नगरपालिका क्षेत्रबाट एउटा क्यामेरा हराएको हो । बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामेरा राखेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन वटा क्लस्टरमा विभाजन गरेर पहिलो क्लस्टरमा पर्ने निकुञ्जको मुख्यालय कसरादेखि पश्चिमतर्फ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीसम्मको क्षेत्रमा बाघ सर्वेक्षणको काम भइरहेको छ । बाघ सर्वेक्षणका लागि निकुञ्ज, मध्यवर्ती, सामुदायिक वन र राष्ट्रिय वनलाई ग्रिड बनाएर क्यामेरा राखिएको छ ।
निकुञ्जले हरेक चार वर्ग किलोमिटर क्षेत्रफलमा बाघ गणनाका लागि एक जोडा स्वचालित क्यामेरा राखेको छ । बाघ सर्वेक्षणका लागि प्रयोग भएको स्वचालित ट्र्यापिङ क्यामेरा अन्य प्रयोजनमा काममा आउँदैन । क्यामेरा जडान गरिएको तेस्रो दिनमै हराएको हो । बाघ सर्वेक्षणका लागि निकुञ्जले जमिनबाट ४५ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरको उचाइमा क्यामेरा राखेको छ ।
बाघ सर्वेक्षणका लागि राखिएको स्थानमा एउटै बाघलाई दुई वटा क्यामेराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ । बाघको ढाडमा हुने पाटाको आधारमा बाघको गणना गरिने छ ।