एजेन्सी
बर्तमान अवस्थामा संसारभरका मानिस प्रविधिमा यति धेरै अव्यस्त भै सकेका छन् कि हिँडदा पनि बाटोमा होइन, फोन हेरेर हिंड्न थालेका छन् । कतै तपाईंमा पनि यस्तै बानी छ भने अब सरकारले बाटो हिंड्दा फोन चलाउनेलाई बिस्तारै लगाम लगाउने कानून ल्याउन थालेको छ । बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाउने कानून जापानस्थित यामातो सहरमा ल्याउन लागिएको हो । सोरा न्युज २४ का अनुसार यामातोका दुईवटा ट्रेन स्टेसनमा हिंडेका करिब ६ हजार मानिसमा गरिएको अनुसन्धानमा १२ प्रतिशत मानिसले बाटो हिंड्दा फोन हेर्दै हिंडेका थिए । त्यही अनुसन्धान सार्वजनिक भए लगतै यामातो सहर प्रतिनिधिहरु फोन प्रतिबन्ध लगाउने प्रस्तवको बिषयमा मतदान गर्ने निर्णयमा पुगेका छन् ।यामातो सहरका जनप्रतिनिधिले बटुवाहरु फोनमा ब्यस्त हुँदै हिंड्ने क्रम बढे पछि मान्छे- मान्छे आपसमा ठोक्किएर लड्ने जस्ता घटनामा पनि बृद्धि हुँदै गएको निचोड निकालेर यस्तो नियम लागू गर्न लागिएको हो ।
यदि जुन महिनामा यो नियम मतदानबाट पास भयो भने जापानको यामातो सहर बाटो हिंड्दा फोन चलाऊन प्रतिबन्ध लगाउने पहिलो सहर हुने छ । नियम पास भए जुलाई १ तारिखदेखि लागू हुने छ । हालै बैज्ञानिकहरुले बाटोमा हिड्दा बटुवाले टेक्स्ट गर्ने, फोन चलाउँदै हिंड्ने गर्दा विश्वमा बटुवाहरु बीचको दुर्घटनामा ८ सय प्रतिशत बृद्धि भएको बताएका छन् ।