काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर उठेको छैन । जसले गर्दा सडकमा फोहोर थुप्रिएको छ । त्यसमाथि निरन्तर परेको वर्षाले सडक झनै अस्तव्यस्त बन्न पुगेको छ । गतरातीबाट मनोहरा, गोदावरी, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले ५ बजे सूचना जारी गर्दै सबै नदीमा जलसतह बढ्दो अवस्थामा रहेको जनाएको हो । मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पानी पर्न रोकिएपनि अझै केही घण्टा नदी किनारको सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे अध्यावधिक गरेको मौसमी बुलेटिनमा लेखिए अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आज राति भने प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ । यद्यपि आगामी ३ दिनसम्म नेपालका प्रमुख नदीहरुको जलसतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।