बाढी पहिरोमा ५१ को निधन, सरकारले तोक्यो सरोकारवालालाई जिम्मेवारी

काठमाडौं । गत बिहीबारदेखिको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोमा परी निधन हुनेको संख्या ५१ पुगेको छ ।

मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले निधन भएको संख्या सार्वजनिक गरेको हो । मुलुकभर ५१ जनाको निधन भएको र ३१ जना वेपत्ता रहेको सरकारको तथ्यांकमा उल्लेख छ ।

२८ जना घाइते छन् । १० हजार ३ सय ८५ घरधुरी यस विपत्तीबाट विस्थापित भएका छन् भने ठूलो आर्थिक क्षति भएको मन्त्रीपरिषद् वैठकपछि सार्वजनिक विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैबीच सरकारले उद्धार तथा राहत प्रभावकारी बनाउन सरोकारवाला निकायको जिम्मेवारी पनि तोकेको छ । सरकारले घाइतेहरुको उपचारका सम्पूर्ण व्यवस्था गर्ने भएको छ ।

घाइतेको उपचारमा कुनै कमी हुन नदिने, घाइते भई अपांग तथा अशक्त हुने र मृतकका परिवारका सदस्यलाई पनि सरकारले यथोचित व्यवस्था गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ ।

प्रभावित क्षेत्रमा रोगको प्रकोप हुन नदिन औषधि उपरणसहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय सरकारले गरेको छ ।

विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, सञ्चारजस्ता अत्यावश्यक सेवा सूचारु गराउन सम्बन्धित निकायले पूर्ण सतर्कता अपनाउने निर्णय सरकारले गरेको छ ।

यातायात आवागमन सूचारु गराउन रक्षा, गृह र भौकि पूर्वाधार तथा यातायात मन्त्रालयहरुले समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ ।

उद्धार र राहतलगायत काममा आवश्यक सहयोग गर्न जनप्रतिनिधिलाई आग्रह गरिएको छ ।

गृह मन्त्रालयको समन्वयमा विपदबाट भएको क्षतिको विवरण तयार गरी मूल्यांकन गर्ने र त्यसपछि पुनस्र्थापना र पुनर्निर्माणलगायतका विषयमा निर्णय गर्ने निष्कर्षमा सरकार पुगेको हो ।