बाढी र पहिरोबाट बुधबार मात्र ५० जनाको मृत्यु, ज्यान गुमाउने ७७ पुगे

काठमाडौं । पछिल्लो दुई दिनमा नेपालमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । गृह मन्त्रालयका अनुसार यसमध्ये बुधबार मात्र ५० जनाको मृत्यु भएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् । २७ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । बुधबार साँझसम्म सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखाका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एकरएक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।

गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ । आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार रुपैयाँ दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँ दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।