बानेश्वरमा बाबु-छोरी मृत फेला

काठमाडौं । काठमाडौंको बानेश्वरमा बुवा–छोरी मृत भेटिएका छन् । शनिबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका १० स्थित टंकप्रसाद मार्गको एक घरमा बुवा–छोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाएका छन् । रामेछाप खाँडादेवी गाउँपालिका ८ घर भई बानेश्वरमा डेरा गरी बस्दै आएका अन्दाजी ३६ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

एसपी मैनालीका अनुसार उक्त घरमा भित्रैबाट बन्‍द गरिएको थियो। श्रीमती बाहिर गएकी थिइन्। उनी घर फर्किएपछि श्रीमान शौचालयमा झुन्डिएको र ७ वर्षीया छोरीको घाँटी रेटिएको अवस्थामा मृत फेला परेको समाचारमा उल्लेख छ घटनाको खबर पाएपछि जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की लगायतको टोली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र फोरेन्सिक चिकित्सक गोपाल चौधरीसहितको टोली पुगेको थियो।

अहिले मुचुल्काको काम भइरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बालिका ‘फरक क्षमता’की थिइन्। बालिकाको हत्या गरी बुवाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनाबारे विस्तृतमा अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।