बारामा एकै परिवारका तीन जनाको हत्या

बारा । बारामा एउटै परिवारका तीन जनाको हत्या भएको छ । बाराको प्रसौनी गाउँपालिका ५ प्रष्टोका बस्ने दीपेन्द्र चौधरीकी श्रीमती २५ वर्षीया सुजाता चौधरी, ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । तीनै जनाको शव बुधबार दिउँसो गाउँकै ढोरा खोलाको किनारमा भेटिएको छ । आमा र बच्चाको शव तीन सय मिटर दूरीमा भेटिएको प्रहरीले जनाएको छ । दीपेन्द्र भने राती घाइते अवस्थामा भेटिएका थिए । उनको टाउकोमा चोट लाग्नुका साथै दाहिने खुट्टा र ढाड भाँचिएको छ ।

उनको अस्पतालमा उपचार जारी छ । सुजाताको माइती जीतपुरसिमरा–९ छातापिपरा हो । प्रहरीका अनुसार चारै जना घरबाट सँगै निस्किएका थिए । दीपेन्द्रले श्रीमती र छोराछोरी डोरा खोलामा घोंगी खोज्न गएको जवाफ दिएका थिए । प्रहरीका अनुसार मंगलबार सुजाताको माइती पक्षले प्रहरी कार्यालयमा खोज तलासका लागि निवेदन दिएका थिए । माइती पक्षले बुधबार पुनः अस्पताल गएर ज्वाइँ दीपेन्द्रसँग कुराकानी गर्दा दीपेन्द्रले खेतनजिकै खोलामा सुजाता र छोराछोरीलाई कसैले मारेको र आफू भागेको बयान दिएका थिए ।

दीपेन्द्रले भनेको ठाउँमा प्रहरी टोली लिएर पुग्दा छोरी र नाति नातिनीहरुको शव भेटिएसँगै प्रहरीले हत्या दीपेन्द्रले नै गरेको हुन सक्ने आशंका गरेका छ । पालैपालो घाँटी रेटेर हत्या गरिएको जस्तो अवस्थामा शव भेटिएको प्रहरीको भनाई छ ।