बारा । बारामा गोली प्रहार गरी एक जना भारतीय नागरिकको हत्या गरिएको छ । अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिकको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको हो । उनी भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् । कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका(२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर उनी गम्भिर घाईते भएका थिए ।
नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा आएका पाँच जनाको समूहका एक जनाले साढे ५ बजेतिर गोली हानेर भागेका थिए । बाराको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । शिवपुजनको छातीमा गोली लागेको प्रहरीले जनाएको छ । मृतक यादव भारतको मोस्ट वान्टेड सूचीमा रहेका थिए । उनी बिहीबार मात्र भागेर नेपाल आएर आफन्तकोमा बसेको समेत प्रहरीले जनाएको छ ।