बारामा जेन जीका नाममा दिनभर प्रदर्शन, स्थानीय प्रशासनद्वारा ‘कर्फ्यु’ जारी

जेनजी युवाले बिहीबार बारास्थित सिमराचोकमा गरेको प्रदर्शन । प्रदर्शनका कारण सिमरामा यातायात ठप्प रहेको छ । तस्बिरः दिवाकर भण्डारी/रासस

बारा, ४ मङ्सिरः बाराको सिमरामा जेन जीका नाममा प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ‘कर्फ्यु ’आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अप्रिय घटना नघटोस् भनेर कफ्र्यु आदेश जारी गरिएको जानकारी दिए । नेकपा (एमाले) समर्थित नेता तथा कार्यकर्ता र जेनजीबीच झडप भएपछि बुधबार पनि अप्रिय घटना नघटोस् भन्दै दिउँसो १२ः३० देखि राति ८ः०० बजेसम्म ‘कर्फ्यु ’आदेश जारी गरिएको थियो ।

आज पनि बिहानैदेखि सिमरा चोकमा जेनजीले पुनःप्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो १ः०० बजेदेखि राति ८ः०० बजेसम्म ‘कर्फ्यु ’लगाएको हो । प्रजिअ मिश्रले जेनजीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । आज जेनजीका नाममा उत्तेजित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।