बारामा बस दुर्घटना, १६ जनाको मृत्यु

बारा । बिहीबार बिहान भएको बारामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चालक फरार छन् । १६ जनामध्ये १४ जनाको सनाखत भइसकेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान साढे १० बजे बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन् ।

मृत्यु हुनेमा जिल्ला बारा कलैया उपमहानगर पालिका २ बस्ने अन्दाजी वर्ष ४० को लिलाराज चौधरी, जिल्ला चितवन खैरेनी नगरपालिका ५ बुडौली बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी, सोही ठाउँ कालिका नगरपालिका रमाइलो चोक बस्ने शंकर कँडेलको छोरा अन्दाजी वर्ष १४ को सफल कँडेल, जिल्ला पर्सा वीरगन्ज महानगरपालिका १६ बस्ने वर्ष ६५ को सोमप्रसाद चौरसिया, सोही ठाउँ बस्ने वर्ष ३६ कि मन्निदेवी चौरसिया, जिल्ला मकवानपुर हेटौडा उपमहानगर पालिका ७ बस्ने वर्ष ५६ कि शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँ बस्ने वर्ष १९ कि स्वस्तिका श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापालाई उदृत गर्दे सञ्चारमाध्यमले जनाएका छन् ।

जिल्ला बारा कलैया उपमहानगर पालिका १० बस्ने वर्ष ३५ कि नाजलिन खातुन, सोही ठाउँकी वर्ष २६ को ईताजत अन्सारी, बाराको जितपुरसिमरा उपमहानगर पालिका २२ बस्ने वर्ष २८ को सुरेश बिक, जिल्ला ओखलढुङ्गा बस्ने पूर्व प्रहरी नायब निरीक्षक लालबहादुर बोगटी, जिल्ला चितवन खैरेनी नगरपालिका ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कँडेल, जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ५ बस्ने वर्ष ५० को सन्तोषकुमार राय रहेको प्रहरीले जनाएको छ ।

मृत्यु भएका २ को हेटौडा अस्पतालमा शव रहेको र नामथर वतन खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराको भनाई छ । घाइते सबैलाई उपचारको लागी ९ जनालाई हेटौडा, ४ जना वीरगन्ज र १९ जनाको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।