बार्बेडोस बन्यो कान्छो गणतन्त्रात्मक मुलुक, ब्रिटेनकी महारानीलाई राष्ट्रप्रमुख नमान्ने

REUTERS

लण्डन । क्यारेबियन टापु मुलुक बार्बेडोस विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक बनेको छ । ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै यो देश विश्वकै कान्छो गणतन्त्र बनेको हो । राजधानी ब्रिजटाउनमा गए राति गरिएको समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको शपथ दिलाइएको छ।

बीबीसीका अनुसार ब्रिजटाउनमा आयोजित उक्त समारोहमा ब्रिटेनका युवराज प्रिन्स अफ वेल्स तथा बार्बेडियन गायिका रिहाना समेत उपस्थिति भए । सो समारोह उक्त देश स्वतन्त्र बनेको ५५ औँ वार्षिकीको अवसरसँगै पारिएको थियो। समारोहलाई सम्बोधन गर्दै युवराज चार्ल्सले उक्त क्यारेबियन टापुले विगतमा दासताको त्रासदीपूर्ण ज्यादती भोगेको स्वीकार गरे। बार्बेडोसको नयाँ युगसँगै ब्रिटेनको शताब्दीयौँ पुरानो प्रभाव समाप्त हुनेछ।


झन्डै २ सय वर्षसम्म त उक्त टापु एटलान्टिक महासागर वारपार हुने दासदासी व्यापारको केन्द्र समेत बनेको थियो। आधिकारिक रूपमा शक्ति हस्तान्तरणको प्रतीक स्वरूप समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिइएको थियो । त्यसपछि शाही झन्डा विस्थापित गरिएको थियो। मुख्य अतिथिको रूपमा निम्त्याइएका युवराज चार्ल्सले संवैधानिक परिवर्तनका बाबजुद दुई देशबीच निरन्तर सम्बन्ध रहने बताए।