बार्सिलोनाको पुनरागमन जित

Photo by David Ramos/Getty Images

काठमाडौं । स्पानिस लालिगामा बार्सिलोनाले रियल बेटिसलाई ३- २ गोलले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । गतराति सम्पन्न खेलमा बार्सिलोना पछाडी रहेको अवस्था उल्टाएर जित निकालेको हो । जितमा दोस्रो हाफमा मैदान छिरेका कप्तान लियोनल मेसीले प्रेरणादायी खेल देखाए ।

पहिलो हाफमा बार्सिलोना एक गोलले पछि रहेको थियो । दोसो हाफमा मेसी र ट्रिनकाओले एक एक गोल गरे । एक गोल उपहार पायो । घरेलु मैदानमा बोर्या इगलेसिसले गोल गर्दै ३८औं मिनेटमा बेटिसलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले ५९औं मिनेटमा बार्सिलोनालाई खेलमा फर्काए । ६८औं मिनेटमा भिक्टोर रुइजले आत्मघाती गोल गरी बार्सिलोना २, १ को अग्रतामा आयो ।

७५औं मनटमा रुइजले नै बेटिसका लागि बराबरी गोल गरे । ८७औं मिनेटमा ट्रिनकाओले बार्सिलोनाका लागि निर्णायक गोल गरे । जितपछि बार्सिलोनाले २१ खेलबाट रियल मड्रिडसँग समान ४३ अंक जोडेको छ । गोल अन्तरमा बार्सिलोना अघि रहेको छ ।