बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

ललितपुर । ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । चोरी भएको एक सातासम्म पनि यो मूर्तिबारे प्रहरीले कुनै सुराक पाउन सकेको छैन । बालकुमारी गुठीले विशेष सूचना निकालेर पुरस्कार घोषणा गरेको हो। ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरिएको जानकारी गराएका छन् ।

सुराकी दिने व्यक्तिको गोपनीयता कायम गरिने भएको छ । चोरी भएको मूर्तिको सम्बन्धमा अनुसन्धान गर्न अहिले महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ। अघिल्लो आइतवार माघ ९ गते ललितपुर महानगरपालिका–२७ मा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो ।