बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

काठमाडौं । ८ माघ शनिबारको राती ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलले २० दिनपछि भेटिएको मूर्ति सार्वजनिक गरेको हो । गत राती ललितपुरको हात्तीवन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अवस्थामा मूर्ति फेला परेको हो । हात्तीवनका स्थानीय बुढी आमाले बोरामा राखेको अवस्थामा मूर्ति देखेपछि स्थानीयबीचमा हल्ला भएको थियो । त्यसपछि मूर्ति महानगरीय प्रहरी परिसर जावलाखेल लगिएको थियो ।

मूर्ति भेटिएको जानकारीपछि गुठीका सदस्य बाजागाजासहित प्रहरी परिसर जावलाखेल पुगेका थिए । त्यसपछि अबिर जात्रासहित मूर्ति मन्दिरमा भित्राइएको छ । गुठीले मूर्ति भेटिएको सूचना दिनेको नाम गोप्य राखिने र पाँच लाख पुरस्कार दिने अपिलसमेत निकालेको थियो । मूर्ति चोरीको अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो । मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ भने गरिएको छैन । यो ३ सय वर्ष पुरानो मूर्ति मानिएको छ ।