बालगायक सचिन परियारको निधन, प्रधानमन्त्रीले दिए श्रद्धान्जली

काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०स्४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । १५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो ।

यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा छाएका छन् । सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।

‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनको निधनमा श्रद्धान्जली व्यक्त गरेका छन् । उनले भनेका छन्, एक प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनसिल विषयमा सजग रहेर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ ।’