बालबालिकालाई लगाउन थप ४० लाख मोडर्ना खोप ल्याइयो

काठमाडौं । नेपालमा बालबालिकालाई लगाउने थप ४० लाख मोडर्ना खोप ल्याइएको छ । सोमबार १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार यो खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने हो । अमेरिकी खोप मोडर्ना कतार हुँदै नेपाल आएको हो । बाँकी २३ लाख ४० हजार मात्रा खोप मङ्गलबार नेपाल आउँदैछ ।

कोभ्याक्समार्फत विश्व बैङ्कको सहुलियतमा यो खोप आएको हो । यसअघि ३८ लाख मोडर्ना खोप ल्याएर बालबालिकामा लगाइएको छ । सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई खोप लगाइसकेको छ । यो खोपको वितरणका सम्बन्धमा ठोस निर्णय भइसकेको छैन ।