बालाजुमा एक जना मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन ।

उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीले आसपासको क्लोज सर्किट (सीसी) टिभी समेत हेरेको प्रहरीले जनाएको छ । त्यसक्रममा उनी एक्लै आएर बसेको जस्तो देखिएको छ । उनको साथमा कालो झोला र बैशाखी समेत भेटिएको छ । उनको मृत्युको कारण जान्न प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।