बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली

file

काठमाडौं । चितवनको सिमलताल दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रारत दुईवटा बसको खोजीका लागि आएको भारतीय टोली स्वदेश फर्किएको छ । त्रिशूली नदीमा पानीको वेग “आफूहरूले सोचेको भन्दा धेरै” भएका कारण उपलब्धि हासिल गर्न नसकेको उनीहरुको निष्कर्ष छ । पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उपकरण लिएर आएको चार जना गोताखोर र प्राविधिक समेतको १२ जनाको टोली आइतवार स्वदेश फर्किएको छ।

नेपालबाट बिदा हुनुअघि भारतीय टोलीले उच्च वेग सहितको धमिलो पानी भएका कारण आफूहरूसँग भएका उपकरणले नतिजा नदिएको प्रतिक्रिया दिएको
छ । भारतको न्याश्नल डिजास्टर रेस्पोन्स फोर्सका विशेषज्ञहरूले एक सातासम्म गरेको खोजीबाट पनि बस र थप बेपत्ताहरू पत्ता लाग्न सकेनन्। नेपालको अनुरोधमा आएको भारतीय प्राविधिक टोली साउन ६ गतेबाट एक सातासम्म नेपालका सुरक्षा निकायहरूसँग मिलेर खोजीमा खटिएको थियो।

हालसम्म दुर्घटनामा परेका २५ जना यात्रुहरूको शव नेपाल र भारतका विभिन्न ठाउँमा भेटिएको छ भने दुर्घटनाको १७औँ दिनसम्म पनि ३६ जनाको अवस्था अज्ञात छ । नेपाली र भारतीय दुवै टोलीको पछिल्ला दिनहरूको खोजी बस नदीमा खसेको भनिएको सिमलताल र जुगेडीबीचको क्षेत्रमा केन्द्रित थियो।

त्रिशूलीमा हराइरहेका दुवै बस त्यही तीन किलोमिटर क्षेत्रमा रहेको हुनसक्ने आशङ्का गरिए पनि नेपाली र भारतबाट आएका प्राविधिकहरूसँग भएका उपकरण र जनशक्तिले उक्त क्षेत्रमा प्रभावकारी खोजी गर्न नसकेको बताइएको छ । भारतीय टोलीले पनि सिमलताल र चितवनकै गाइघाटबीचको क्षेत्रमा बस हुनसक्ने आकलन गरेको र त्यसबारे विस्तृत प्रतिवेदन दिने जनाएको छ ।